Sagun Khabar
कांग्रेसले बैतडीमा जेठ ३० गते पालिका सम्मेलन गर्ने, प्रतिनिधि खटायो 

बैतडी –नेपाली कांग्रेस बैतडीले यही जेठ ३० गते पालिका सम्मेलन गर्ने भएको छ । अहिले वडा सम्मेलनहरु भइरहेका र जेठ ३० गते पालिका सम्मेलनको तयारी भएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले बताए । सम्मेलनका लागि जिल्लाका १० ओटै स्थानीय तहमा प्रतिनिधि खटाइएको सहसचिव चन्दले बताए । 

सम्मेलनका लागि दशरथचन्द नगरपालिकामा उपसभापति खगेन्द्रसिंह धामीलाई खटाइएको छ भने पाटन नगरपालिकामा उपसभापति बीरबहादुर बिष्टलाई खटाइएको छ । यस्तै मेलौली नगरपालिकामा पूर्व जिल्ला सभापति नरेन्द्रसिंह थापालाई खटाइएको छ भने पुर्चौंडी नगरपालिकामा जिल्ला सचिव देवराज जोशीलाई खटाइएको सहसचिव चन्दले जानकारी दिए । 

यस्तै सुर्नया गाउँपालिकामा प्रदेश सभा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति शिवराज भट्टलाई खटाइएको छ भने दोगडाकेदार गाउँपालिकामा जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्दलाई खटाइएको छ । डिलाशैनी गाउँपालिकामा जिल्ला सहसचिव दशरथ चाडलाई खटाएको कांग्रेसले सिगास गाउँपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्दलाई खटाएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकामा प्रदेश सभा क्षेत्र नं १ का क्षेत्रीय सभापति विष्णुदत्त भट्टलाई खटाइएको छ भने शिवनाथ गाउँपालिकामा सहसचिव दिपेन्द्रबहादुर चन्दलाई खटाइएको छ । 

सम्मेलनमा कांग्रेसको संगठनको अवस्था,पार्टीको संरचना,पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका बिषयमा छलफल हुने गरेको जनाइएको छ । यस्तै पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल भइरहेको छ ।

पार्टीको संगठनलाई क्रियाशील बनाउन र नेपाली कांग्रेसका कार्यकर्ताहरुमा उत्साह भर्नका लागि सम्मेलन भइरहेको सहसचिव चन्दले बताए । उनले भने ‘कांग्रेसको संगठन सुदृढिकरण अभियान अन्तर्गत हामीले वडा तहदेखि सम्मेलनको आयोजना गरेका छौं ।’

पालिका सम्मेलन सम्पन्न भएपछि असार २ गते जिल्ला सम्मेलनको आयोजना गर्ने तयारी रहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update