Sagun Khabar
बैतडीमा हिंसा प्रभावितहरुका लागि सहयोगी बन्दै ‘सेफ हाउस’ 
तस्बिर: अल्पकालिन सेवा केन्द्रले दिइरहेको सेवाका बिषयमा छलफल गर्दै सरोकारवालाहरु

बैतडी–बैतडीमा हिंसामा परेका महिला तथा बालबालिकाहरुका लागि अल्पकालिन सेवा केन्द्र (सेफ हाउस) सहयोगी बनेको छ । हिंसा प्रभावितहरुलाई आश्रय तथा कानुनी सेवाका लागि अल्पकालिन सेवा केन्द्रले सहयोग गर्दै आएको सरोकारवालाहरुले बताएका छन् । 

बैतडीको पाटनमा सञ्चालनमा रहेको सेफ हाउसले हिंसामा परेका महिलाहरुलाई सहयोग गर्दै आइरहेको छ । सामाजिक विकास कार्यालय बैतडी,पाटन नगरपालिका, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), साथी संस्था लगायतको सहयोगमा सहस्त्रलिंग सामुदायिक संस्थाले अल्पकालिन सेवा केन्द्र सञ्चालन गर्दै आएको केन्द्रकी मनोविमर्शकर्ता डम्मरी भट्टले बताइन् । 

अल्पकालिन सेवा केन्द्र (सेफ) हाउसले गएको पौषदेखि ६४ जना हिंसा पीडित महिला तथा बालबालिकाहरुलाई सहयोग गरेको उनले बताइन् । सेवा केन्द्रमा यो अवधिमा ४० जना मानसिक हिंसा, १७ जना शारीरिक हिंसा, ४ जना जबरजस्तीकरण, एक जना बहुविवाह, १ जना बेचबिखन र १ जना बालविवाहमा परेकाहरुलाई सहयोग गरिएको भट्टले बताइन् । 

अल्पकालिन सेवा केन्द्रमा हिंसा प्रभावितहरुलाई खानेबस्ने सुविधा रहेको छ भने उनीहरुलाई आवश्यकता अनुसार निशुल्क रुपमा कानुनी सेवा समेत दिने गरिएको छ । 

यस्तै अल्पकालिन सेवा केन्द्रले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा हिंसा प्रभावितहरुलाई सीपमूलक तालिम समेत दिँदै आएको छ । 

पाटनमा सञ्चालनमा रहेको अल्पकालिन सेवा केन्द्रले हिंसा प्रभावितहरुलाई सहयोग गर्दै आएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए । हिंसा प्रभावितहरुलाई आश्रय दिनका लागि सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । 

अल्पकालिन सेवा केन्द्रको सेवालाई अझै प्रभावकारी बनाउनका लागि नगरपालिकाले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । सेवा केन्द्रको भवन निर्माणका लागि संघीय सरकारबाट ८० लाख बजेट समेत प्राप्त भइसकेकाले अब छिटै पाटनमा सेफ हाउसको आफ्नै भवन बन्ने उनले बताए ।

सामाजिक विकास कार्यालयले सेफ हाउस सञ्चालनका लागि हरेक बर्ष अनुदान दिँदै आएको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकरदत्त जोशीले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update