Sagun Khabar
सुप विश्वविद्यालयका आंगिक क्याम्पसका समस्या समाधान गर्न स्ववियु सभापतिहरुको माग 

बैतडी –सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसका समस्या समाधान गर्न स्ववियु सभापतिहरुले माग गरेका छन् । विभिन्न क्याम्पसका ११ जना स्ववियु सभापतिहरुले संयुक्त रुपमा विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्मरराज जोशीलाई ज्ञापन पत्र बुझाएका छन् । 

आइतबार बुझाएको ज्ञापन पत्रमा स्वतन्त्र विद्यार्थी युनियनका काम कर्तव्य र अधिकारका विषयमा देखिएका नीतिगत समस्या समाधान गर्न र विद्यार्थीले भोगिरहेका समस्या समाधान गर्न आग्रह गरिएको छ । 

सुप विश्वविद्यालयका आंगिक क्याम्पसमा पठनपाठन हुने बिषयका पाठ्यक्रम र पाठ्यपुस्तक समयमै उपलब्ध गराउनुपर्ने माग गरिएको बैतडीको पाटन बहुमुखी क्याम्पसकी स्ववियु सभापति भागरथी भट्टले बताइन् ।

विश्वविद्यालयाले तोकेको डेडिकटेड आवरको अवधारणालाई प्रभावकारी रुमपा लागुगरी विद्यार्थीलाई पाँच घण्टा क्याम्पसमा बस्ने वातावरण बनाउनुपर्ने , विश्वविद्यालयबाट समाधान गर्न सकिने विभिन्न विषयहरू तत्काल सुरुगरी समस्या समाधान गर्नुपर्ने, समग्र विश्वविद्यालयको वृद्धि विकासमा कुशल नेतृत्वदायी भूमिकामा निर्वाह गर्नुपर्ने लगायतका सातबुँदे मागसहित ज्ञापन पत्र बुझाइएको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका स्ववियु सभापति धनी भट्टले बताए ।

गएको चैत ८ गते सुदुरपश्चिम विश्वविद्यालयका १२ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update