बैतडी –बैतडीको पाटन नगरपालिकाले महिलाहरुका लागि आचार तथा गुन्दु्रक बनाउने सीपमूलक तालिम शुरु गरेको छ । पाटन नगरपालिका वडा नं ८ मा महिलाहरुका लागि सीपमूलक तालिम शुरु गरिएको हो । नगरपालिकाको वडा नं ८, ९ र १० मा रहेका महिला कृषक सहकारी संस्थामा आवद्ध महिलाहरुका लागि तालिम शुरु गरिएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।
महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि ७ दिने तालिमको शुरुवात गरिएको वडा अध्यक्ष बिष्टले बताए । यसअघि महिलाहरुका लागि दुना टपरी तालिम सञ्चालन गरेको नगरपालिकाले अहिले अचार तथा गुन्द्रुक बनाउने तालिम सञ्चालन गरेको वडा अध्यक्ष बिष्टले बताए ।
आइतबारदेखि सञ्चालन भएको अचार तथा गुन्द्रुक बनाउने सीपमुलक तालिममा तीनै वटा वडाबाट सहकारीमा आवद्ध ३० जना महिलाहरूको सहभागिता रहेको पाटन नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारीले जानकारी दिइन् ।
तालिमको उद्दघाटन गर्दै पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्नु अतिआवश्यक रहेको बताए ।
तालिमको उद्दघाटन सत्रमा नगरप्रमुख रावलसहित , वडा नम्बर ८ का अध्यक्ष हरिश बिष्ट, वडा नम्बर १० का अध्यक्ष धनबहादुर कुवँर, महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारी लगायतको उपस्थिति रहेको थियो ।




