बैतडी –पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपीआरलाई अबको तीन महिनाभित्र अन्तिम रुपम दिने नेपाल र भारतबीच सहमति भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका समयमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर)लाई अन्तिम रुप दिनका लागि द्विपक्षीय छलफललाई तीव्रता दिने सहमति भएको हो ।
लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर आयोजना कार्यान्वयनका लागि दुवै देशले आवश्यक बित्तीय व्यवस्थाका साथै अन्य व्यवस्थापनहरु गर्ने सहमति भएको श्रोतले जनाएको छ । अबको एक बर्षभित्रै आयोजना कार्यान्यवनको ढाँचा टुंगो लगाउने सहमति समेत भएको जनाइएको छ ।
महाकाली सन्धिमा परिकल्पना गरिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउनका लागि डिपीआरलाई अन्तिम रुपमा दिने र त्यसपछि दुवै देशका सम्बन्धित मन्त्रालयहरुले काम अघि बढाउने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्णप्रसाद भट्टले बताए । उनले भने ‘अब पञ्चेश्वरको काम अघि बढ्ने आसा पलाएको छ । यो भन्दा पहिला पञ्चेश्वरका लागि पहल गरिने कुरा मात्रै हुन्थ्यो । यो पाला डिपीआरलाई अन्तिम रुप दिन निर्देशन भइसकेको छ । त्यसैले यो आयोजना अघि बढ्ने आसा पलाएको छ ।’
दुवै पक्षले टनकपुर लिङ्क क्यानल निर्माणको स्वागत गर्दै नेपालतर्फ आवश्यक पर्ने संरचनाको उपलब्धताका आधारमा चरणबद्ध रुपमा टनकपुर ब्यारेजबाट नेपालको सिँचाइ कमान्ड एरियामा नहरबाट पानी छोड्ने सहमति भएको छ । यस सम्बन्धमा दुवै पक्षका प्राविधिक टोली सम्पर्कमा रहनेछन् ।
सन् १९५६ देखि चर्चा सुरु भएको पञ्चेश्वर आयोजना अघि बढाउन अहिलेसम्म डीपीआरको ड्राफ्टले समेत अन्तिम रुप लिन सकेको छैन् । ६ हजार ६९० मेगावाट विद्युत उत्पादन क्षमताको पञ्चेश्वर आयोजना अघि बढाउन ८ वर्षअघि नेपाल र भारतको संयुक्त पहलमा कञ्चनपुरको महेन्द्रनगरमा पञ्चेश्वर प्राधिकरण कार्यालय स्थापना गरिएपनि अपेक्षाकृत रुपमा काम हुन सकेको छैन् ।
प्रधानमन्त्रीको भारत भ्रमणको समयमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका बिषयमा काम अघि बढाउने सहमति भएको कुराले प्रभावित क्षेत्रका नागरिकमा खुसीको आसा पलाएको छ । लामो समयदेखि ओझेलमा परेको यो आयोजना अब अघि बढाउन ढिलो गर्न नहुने शिक्षक चन्द्रमोहन तिवारीले बताए । उनले भने ‘हामीले सानैदेखि पञ्चेश्वरको बारेमा सुन्दै आएका छौं । तर अहिले सम्म यो आयोजना अघि बढ्न सकेको छैन् । त्यसैले यसलाई अघि बढाउनका लागि दुवै देशका सरकार गम्भीर बन्नु आवश्यक छ ।’
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढेमा यो भ्रमणले ठूलो उपलब्धी हात पार्ने मेलौली नगरपालिकाका निवर्तमान नगर प्रमुख कृष्णसिंह नायकले बताए । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने कुरामा दुवै देशका सरकार दृढ हुनुपर्नेमा उनले जोड दिए । उनले भने ‘अहिले भनिएको सहमति कार्यान्वयनमा भएमा आयोजनाको काम अघि बढ्छ कि भन्ने आसा पलाएको छ । यसमा दुवै देशले तदारुकताका साथ अघि बढ्नुपर्छ ।’




