Sagun Khabar
एमाले बैतडीको इन्चार्जमा पाल, सुदूरपश्चिमका अरु जिल्लामा को ? 

बैतडी –नेकपा एमालेले जिल्ला इन्चार्जहरु हेरफेर गरेको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले जिल्लाहरुको इन्चार्जमा पोलिट्ब्युरो सदस्यहरुलाई जिम्मेवारी दिएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । 

बैतडी इन्चार्जको रुपमा निरुदेवी पाललाई खटाएको छ । यसअघि पुरनसिंह दयाल जिल्ला इन्चार्ज रहेका थिए । जिल्ला इन्चार्जको जिम्मेवारी पोलिट्ब्युरो सदस्यहरुलाई दिने नीति अनुसार पाललाई बैतडी खटाएको भण्डारीले बताए । 

यस्तै दार्चुलाको इन्चार्जमा सहदेव बोगटी, डडेल्धुराको इन्चार्जमा गौरी ओली, डोटीको इन्चार्जमा लिला भण्डारी, बझाङको इन्चार्जमा राजेन्द्रसिंह रावल, अछामको इन्चार्जमा लालबहादुर थापा र बाजुराको इन्चार्जमा भैरवबहादुरसिंहलाई खटाइएको छ । 

यस्तै कैलालीको इन्चार्जमा गणेशसिंह ठगुन्ना र कञ्चनपुरको इन्चार्जमा नारदमुनि रानालाई खटाएको एमालेले जनाएको छ । 

जिल्लामा नयाँ इन्चार्ज खटिएसंगै जिल्ला अधिवेशन, पालिका अधिवेशन र वडा अधिवेशन गरेर संगठन सुदृढीकरण गर्ने योजना रहेको एमाले बैतडीका उपसचिव भण्डारीले बताए । यस्तै पार्टी संगठन विस्तारका लागि अभियान समेत सञ्चालन हुने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update