बैतडी –बैतडीको पाटन नगरपालिकाले वैदेशिक रोजगारी जान चाहने नागरिकलाई श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि पाटन नगरपालिकाले श्रम स्वीकृती दिन थालेको हो ।
सरकारले गएको चैत १६ गते वैशाख १ गतेदेखि लागू हुने गरेर स्थानीय तहहरुको रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा पाटन नगरपालिकाले आज पहिलो पटक मलेसिया जान इच्छुक पाटन नगरपालिका–६ नवीन विकलाई श्रम स्वीकृति प्रदान गरेको नगर उपप्रमुख कमलसिंह बोहराले बताए । उनलाई पालिकाको रोजगार शाखामार्फत श्रम स्वीकृति प्रदान गरिएको हो ।
विकलाई नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले संयुक्त रुपमा श्रम स्वीकृति हस्तान्तरण गरेका हुन् ।
नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको विकले बताए । बिना झण्झट कम खर्चमा घरदैलोको सरकारले श्रम स्वीकृति प्रदान गर्दा खुसी लागेको उनले बताए ।
वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको नगर प्रमुख रावलले बताए ।




