बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ को रडीगाउँमा लिफ्ट प्रणालीबाट खानेपानी पुगेपछि स्थानीयबासी खुसी भएका छन् । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको गाउँमा खानेपानी पुगेपछि स्थानीयहरु खुसी भएका हुन् ।
झण्डै मूहानबाट १८० मिटर उचाइमा रहेको गाउँमा आकुडी खोलाबाट खानेपानी पुर्याइएको सुर्नया गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टले बताए । ४ सय मिटर पाइप लाइन निर्माण गरेर गाउँमा खानेपानी पुर्याइएको उनले बताए ।
सुदूरपश्चिम प्रदेश सरकार र सुर्नया गाउँपालिकाको संयुक्त लगानिमा सो खानेपानी योजना निर्माण भइरहेको हो । आकुडी खोला लिफ्ट खानेपानी योजनाबाट सुर्नया गाउँपालिका वडा नं ५ को रडीगाउँ र धुलिधारमा खानेपानीको व्यवस्था गर्ने योजना रहेको छ ।
मूहानमा ३५ हजार लिटर क्षमताको ट्यांकी निर्माण गरिएको छ भने रडीगाउँमा पनि ३५ हजार लिटर क्षमताकै ट्यांकी निर्माण गर्ने योजना रहेको गाउँपालिकाका सब इन्जिनियर शेरसिंह बिष्टले बताए । ४० लाखको लागतमा निर्माण भइरहेको योजना अन्तर्गत रडीगाउँका घरघरमा धारा निर्माण गरिनेछन् । यो काम भने आगामी बर्ष अगाडि बढ्ने जनाइएको छ ।
यस्तै रडीगाउँबाट धुलिधारमा पनि खानेपानी पुर्याउने योजना रहेको छ । धुलिधारमा रहेको ट्यांकीमा पनि पानी प्रवाह गर्ने योजना रहेको सबइन्जिनियर बिष्टले बताए ।
आकुडी खानेपानी योजना सम्पन्न भएपछि रडीगाउँ र धुलिधारका करीब १५० घरपरिवार लाभान्वित हुनेछन् । तत्कालका लागि गाउँमा लिफ्टबाट खानेपानी पुगेको र अब थप योजना अगाडि बढाइने इन्जिनियर भट्टले बताए ।
आकुडी खोला लिफ्ट खानेपानी योजनाको गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा लगायतको टोलीले अनुगमन समेत गरेको छ । खानेपानीको समस्या भएको गाउँमा खानेपानी पुगेपछि स्थानीयबासी खुसी भएका र योजनाको बाँकी काम चाँडै अघि बढ्ने उपाध्यक्ष बोहराले बताइन् ।




