Sagun Khabar
बैतडीको झुलाघाटमा मोटरेबल पुल निर्माण हुने 

बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा पक्की पुल निर्माण गरिने बताएका हुन् । 

बैतडीको झुलाघाट नाकाका साथै डडेल्धुराको शीर्षमा पनि मोटरेबल पुल निर्माण गरिने उनले पत्रकार सम्मेलनमा बताएका हुन् । नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन झुलाघाट र शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेका हुन् । 

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नै पुल निर्माण हुने कुरा उल्लेख गरेपछि यो क्षेत्रका नागरिक खुसी भएका छन् । पुरानो नाकाको रुपमा रहेको झुलाघाट नाकामा अब मोटरेबल पुल निर्माणको आसा पलाएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । आफूहरुले लामो समयदेखि उठाउँदै आएको माग पूरा हुने चरणमा पुगेकाले खुसी लागेको उनले बताए । 

झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भएमा दुवै देशका नागरिकलाई फाइदा हुने दशरथचद नगरपालिका ८ का स्थानीय गणेशसिंह थापाले बताए । मोटरेबल पुल निर्माण भएमा दुवै देशमा आर्थिक गतिविधिमा वृद्धि हुने उनले बताए । 

झुलाघाटमा मोटरेबल पुल निर्माण भएमा भारतीय दर्शनार्थीहरुलाई नेपालका धामहरुको दर्शका लागि सहज हुने थापाले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरको दर्शनका लागि अहिले पनि हजारौं भारतीय दर्शनार्थी आउने गरेका छन् । यो नाकामा पुल निर्माण भएमा भारतीय दर्शनार्थीको संख्या बढ्ने थापाले बताए । 

झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भएमा सुदूरपश्चिम क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउने र दुई देशका व्यापारिक सम्बन्ध पनि विस्तार हुने बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । पुल निर्माण भएमा दुवै देशका सीमावर्ती क्षेत्रका नागरिकको पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने उनले बताए । 

झुलाघाट नाकामा अहिले २ सय बर्ष पुरानो झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल निर्माण गर्ने कुराले नेपाली मात्रै नभएर सीमावर्ती भारतीय नागरिक समेत खुसी भएका छन् । झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि ठाउँको अवलोकन भएको र प्रधानमन्त्रीले नै पत्रकार सम्मेलनमा बोलेपछि अब पुल निर्माण हुने आसा पलाएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । 

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको माग गर्दै बैतडी उद्योग वाणिज्य संघले हस्ताक्षर बुझाउनुका साथै अनसन समेत गरेको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update