बैतडी –बैतडीका स्थानीय तहमा अबण्डा बजेट राखेर खर्च गर्ने प्रवति बढेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजीम स्थानीय आर्थिक अवस्था समेतको आधारमा बजेट तथा कार्यक्रमको प्राथमिकीकरणका आधार तयार गरी श्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबण्डा नराखी आय–व्ययको अनुमान पेश गर्नुपर्ने व्यवस्था छ । तर केही स्थानीय तहहरुले सो व्यवस्थाको विरुद्ध अबण्डा रकम राखेर खर्च गर्ने गरेकाले यस्तो कार्यमा नियन्त्रण गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अबण्ड रकम स्थानीय तहहरुका प्रमुखकको तोकादेशको भरमा खर्च गर्ने प्रवृति बढ्दै गएकाले यसले आर्थिक अनुशासन कायम गर्न नसकिने बताइएको छ । जिल्लाका चारओटा स्थानीय तहहरुले गत आर्थिक बर्षमा अबण्डा रकम राखी पछि खर्च गरेका महालेखाको प्रतिवेदनले औंल्याएको छ ।
सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाले १ करोड ८३ लाख ९१ हजार बजेट अबण्डा राखेर पछि खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो रकम ५२ ओटा योजनामा खर्च गरिएको छ । यस्तै दशरथचन्द नगरपालिकाले ६९ लाख ७० हजार अबण्डा रकम राखेर पछि खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी जिल्लाको सुर्नया गाउँपालिकाले ५० लाख अबण्डा रकम राखेर पछि खर्च गरेको छ भने दोगडाकेदार गाउँपालिकाले १६ लाख रुपैंया अबण्डा राखेर पछि खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अबण्डा रकम राख्ने प्रवृति स्थानीय सरकार सञ्चालन ऐन २०७४ विरुद्ध भएकाले आगामी बर्षको बजेट तर्जुमा गर्दा यस्ता प्रवृतिको अन्त्य हुनुपर्ने महालेखाको सुझाव छ ।




