Sagun Khabar
प्रधानमन्त्रीको भारत भ्रमण : झुलाघाटमा मोटरेबल पुल निर्माणको माग 

बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकास्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणको माग फेरी एक पटक उठेको छ । प्रधानमन्त्री प्रचण्डले बुधबारदेखि मित्रराष्ट्र भारतको भ्रमण गरिरहेका बेला बैतडीका स्थानीयहरुले झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतसंग छलफल गर्नुपर्ने माग गरेका हुन् । 

पुरानो नाकाको रुपमा रहेको झुलाघाटमा मोटरेबल पुल नहुँदा यो क्षेत्रका नागरिकले समस्या झेलीरहेकाले प्रधानमन्त्रीले भारतीय समकक्षीसंगको वार्तामा यो बिषयलाई प्राथमिकता दिनुपर्ने दशरथचन्द नगरपालिका ८ का स्थानीय गणेशसिंह थापाले बताए । उनले भने ‘झुलाघाट नाका व्यापारिक नाका मात्रै होइन् । यो नाका सम्बन्धको नाका पनि हो । त्यसैले यो नाकामा मोटरेबल पुल निर्माण आवश्यक छ ।’

Atrya hospital

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको माग राखेको दशकौं बितिसकेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए । नेपाल र भारत दुवै देशलाई आर्थिक र व्यापारिक क्षेत्रमा जोड्नका लागि झुलाघाट नाकामा मोटरेबल पुल निर्माण आवश्यक रहेको बताए । हरेक बर्ष नारामात्रै आउने तर कार्यान्वयन नहुने योजनाको रुपमा नभइ अब पुल निर्माणको ठोस योजना बन्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘झुलाघाट नाकामा पुल निर्माणका लागि हामीले धेरै पटक आवाज उठाइसकेका छौं । पुल निर्माणको माग गर्दै अनसन समेत बसेका थियौं । अहिले सम्म पुल निर्माण हुन सकेको छैन् । अब ठोस प्रगति होस् भन्ने हाम्रो चाहना हो ।’

झुलाघाट नाकामा करीब २ सय बर्ष अघि निर्माण भएको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । यो नाकामा मोटरेबल पुल निर्माणका लागि नेपाली मात्रै नभएर सीमावर्ती भारतीय नागरिकले समेत माग गर्दै आएका छन् । झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय नागरिकले समेत माग गर्दै आएका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । 

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि केही कुरा अगाडि बढीसकेको छ । दुवै देशका प्रधानमन्त्रीको भेटवार्ता यो बिषयलाई उठाउनुपर्ने भारतीय नागरिकहरुको पनि माग रहेको पत्रकार भट्टले बताए । 

झुलाघाट नाका पुरानो नाका रहेको र यो नाकाबाट अहिले पनि नेपाली र भारतीयहरुले आवतजावत गर्दै आएका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरुलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि यो नाकामा मोटरेबल पुल निर्माण आवश्यक रहेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । 

नेपाल र भारतमा सीमा क्षेत्रका नागरिकहरुबीच पारिवारिक, सांस्कृतिक, सामाजिक र व्यपारिक सम्बन्ध रहेकाले यो नाकामा पुल अनिवार्य रहेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update