बैतडी –लामो समयदेखि विभिन्न काममा सक्रिय ग्रामीण विकास एवं वातारण व्यवस्थापन समाज (रुडेस)ले बैतडीको पाटनमा परियोजना परिचयात्मक बैठक सम्पन्न गरेको छ । अक्सफाम नेपालको सहयोगमा विगत दुई बर्षदेखि सञ्चालनमा रहेको ग्रीन परियोजना अन्तर्गत यो बर्ष सञ्चालन गर्ने क्रियाकलापको बारेमा जानकारी दिन परियोजना परिचयात्मक बैठक सम्पन्न गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।
पाटन नगरपालिकासंगको सहकार्यमा नगरका विभिन्न वडामा क्रियाकलाप सञ्चालन गरिरहेको रुडेसले महिलाहरुको सशक्तीकरणका लागि महिला सशक्तीकरण केन्द्र सञ्चालन गर्दै आएको छ ।
यस्तै भारतमा काम गर्ने आप्रवासी कामदारको जीवन बीमा गर्ने, बेमौसमी तरकारी खेतीमा सहयोग, व्यवसायिक किसानहरुको व्यवसाय सुधारमा सहयोग गर्दै आएको रुडेसका कार्यक्रम संयोजक राजन धमनियाले बताए ।
यस्तै परियोजना अन्तर्गत साना सिँचाइ आयोजना निर्माण, लघु उद्यमका कार्यक्रम, प्याजको बीउ उत्पादन र बजारीकरणमा सहयोग गर्नुका साथै हिंसा प्रभावित महिलाहरुलाई सहयोग हुँदै आएको बताइएको छ ।
परियोजना परिचयात्मक बैठकमा बोल्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले रुडेससंगको सहकार्यमा ग्रीन परियोजनामार्फत सञ्चालित कार्यक्रमले विभिन्न क्षेत्रमा सहयोग पुगेको बताए । नगर सरकारले विभिन्न साझेदार निकायहरुसंगको साझेदारीमा समुन्न पाटन बनाउने लक्ष्य राखेको उनले बताए ।




