बैतडी –जिल्ला कारागार बैतडीमा रहेका एक जना कैदी बन्दीको बाँकी कैद मिनाहा गरिएको छ । गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा १० वर्ष ६ महिना कैद सजाय भएका जिल्लाको सुर्नया गाउँपालिका –४ का देवेन्द्रबहादुर कुवँरको बाँकी कैद मिनाहा भएको कारागार बैतडीका प्रमुख धारा भण्डारीले बताइन् ।
कर्तव्य ज्यान मुद्दामा २०७३ पौष २९ गते कारागार चलान भएका कुँवरको कैद भुक्तान २०८४ असार २८ हुने भएपनि गणतन्त्र दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन् । कुँवरले ६० प्रतिशत कैद भुक्तान गरिसकेका छन् ।
५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन रहेका कैदीबन्दीहरुको बाँकी कैद मिनाहाका लागि सिफारिश गरिएको आधारमा कुँवरको बाँकी कैद मिनाहा भएको हो ।
मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको बैठकमा सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम १७ जना कैदी सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।




