Sagun Khabar
शिक्षकको सरुवा गरेको भन्दै बैतडीको एक विद्यालयमा तालाबन्दी 

बैतडी –शिक्षकको सरुवा गरेको भन्दै बैतडीको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै पाटन नगरपालिका ३ स्थित बालकल्याण आधारभूत विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । 

शिक्षक पनेरुको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा काज सरुवा गरिएको छ । नगर शिक्षा समितिले सरुवा गरेको भन्दै बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका अभिभावक दमन बिष्टले बताए । शिक्षक पनेरुको सरुवा बदर गर्नुपर्ने विद्यार्थीहरुको माग रही आएको छ । 

यता नगर शिक्षा समितिले भने शिक्षक पनेरुको आग्रहमा नै कार्यपालिका बैठकबाट निर्णय गरेर सिद्धेश्वरमा माविमा काजमा सरुवा गरिएको जनाएको छ । शिक्षक पनेरुको आग्रहमा उनको काज सरुवा गरिएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक हरिश बिष्टले बताए । शिक्षक पनेरुसहित तीनजनालाई उनीहरुकै आग्रहमा काज सरुवा गरिएको बिष्टले बताए । 

सिद्धेश्वर मावि हुक्केडाँडामा कार्यरत शिक्षक शिवराज भट्टलाई जनपृय आधारभुत विद्यालय काक्सयालीमा , जनपृय आविमा कार्यरत शिक्षक अंकिलाल भट्टलाई बालकल्याण आवि पाटन ३ बोहरीगाउँमा सरुवा गरिएको हो । यस्तै शिक्षक पनेरुको सिद्धेश्वर माविमा काजमा सरुवा गरिएको छ ।

कार्यपालिकाको बैठकबाट नै उक्त निर्णय गरिएकाले विद्यालयहरुलाई सो निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको सामाजिक विकास समितिका संयोजक बिष्टले बताए । निर्णय कार्यान्वयनका लागि सामाजिक विकास समितिका संयोजक बिष्ट विद्यालयमा पुगेका भएपनि तालाबन्दीका बिषयमा भने आफूलाई थाहा नभएको विद्यालयका शिक्षक हरिदत्त भट्टले बताए । 

शिक्षक पनेरुको काज सरुवाको पत्र विद्यालयमा आएको र शिक्षक अंकिलाल भट्ट पनि पत्रसहित विद्यालयमा पुगेका शिक्षक भट्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update