बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको पाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिक २०७५ विपरीत कार्यक्रम सञ्चालन गरिएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनमा रकम वास्तविक खर्च भएको र नियमसंगत भएको हो भन्न नसकिने उल्लेख गरिएको छ ।
आर्थिक बर्ष २०७८÷७९ मा पालिकाभरी सो कार्यक्रम अन्तगर्त १०२ ओटा योजना सञ्चालन भएका र ती योजनाका बेरोजगारहरुको खातामा पैसा हाल्नुपर्ने भएपनि डोर हाजिरीमार्फत भुक्तानी भएको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।
बेरोजगारको सूचीभन्दा थप मानिसको समेत डोर हाजिर गरेर रकम निकासा गरिएको र यो नियमसंगत नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नं ५ मा सडक मर्मत र बाटो निर्माणको काम सम्पन्न नभइकनै उपभोक्ता समिति अध्यक्षको खातामा रकम निकासा गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्ता योजनाहरुको खोजी गरी पालिकाले आवश्यक कारवाही गर्नुपर्ने समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै वडा नं ७ र ८ मा एक भन्दा बढी योजनामा एकै उपभोक्ता समिति बनाएर भुक्तानी गरिएको उल्लेख गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको सूचीमा रहेकाहरुलाई काम दिएर उनीहरुको बैंक खाता खोली रकम निकासा गर्नुपर्ने भएपनि त्यसो नगरेकाले अनियमितता भएको महालेखाले जनाएको छ ।
गएको आर्थिक बर्षमा सुर्नया गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५ करोड ८४ लाख ७६ हजार खर्च भएको छ ।
गत आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरु निर्देशिका बमोजीम सम्पन्न नभएकाले चालु आर्थिक बर्षमा भने निर्देशिका अनुसार काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।
यस्तै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले अघिल्लो जनप्रतिनिधिहरुको पालाको प्रधानमन्त्री रोजगार कार्यक्रममा प्रश्न उठेकाले आफूहरुले अहिले निर्देशिका बमोजीम बेरोजगारहरुको खाता खोलेर रकम निकासा गर्ने दाबी गरे ।




