बैतडी –बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरमा दुई दिने जलवायु परिवर्तन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सेटीगाउँ बहुमुखी क्याम्पसको आयोजना, डिलाशैनी गाउँपालिकाको आर्थिक सहयोग, एनवाइसिए बैतडी र स्ववियुको प्राविधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो ।
कार्यशाला सेटीगाउँ बहुमुखी क्याम्पस, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज र गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा अध्ययनरत ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यशालामा जलवायु परिवर्तनका असर, यसले पार्ने प्रभाव र प्रभाव न्यूनीकरणका बिषयमा छलफल भएको सेटीगाउँ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिलकुमार बिष्टले बताए ।
विश्वव्यापी जटिल समस्याको रूपमा देखा परिरहेको जलबायु परिबर्तनको समस्यासंग जुध्न समुदायस्तरमा जनशक्ति निर्माणका लागि कार्यशालाको आयोजना गरिएको सेटीगाउँ बहुमुखी क्याम्पसका स्ववियु सभापति मोहन बोहराले बताए ।
कार्यशाला गोष्ठीको समापन गर्दै डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जलवायु परिवर्तनका बिषयमा युवाहरुलाई जानकारी दिनका लागि गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए । क्याम्पसमा आयोजना हुने हरेक रचनात्मक कामलाई पालिकाले सहयोग गर्ने उनले बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनिलकुमार बिष्टको अध्यक्षतामा भएको कार्यशाला समापन समारोहमा डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी प्रमुख अतिथी रहेका थिए । यस्तै गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट बिशिष्ट अतिथी रहेका थिए । समापन समारोहमा क्याम्पस प्रमुख राजेन्द्र जोशी, स्ववियु सभापति मोहन बोहरा लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।




