Sagun Khabar
बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान 

कञ्चनपुर –कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । बाघले आक्रमण गरेर मान्छे मारेको वडा नं ८को पचुईँ क्षेत्रमा निगरानीका लागि छ वटा स्वचालित क्यामेरा जडान गरिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहायतामा बाघको ट्र्याकिङका लागि स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए । 

Atrya hospital

पचुईमा नरभक्षी बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । उक्त नरभक्षी बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको थियो । मानिसमाथि आक्रमण गर्ने बाघ अहिले चिडियाखाना थुनिएको छ । यसअघि गत चैत १० मा भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास नगरपालिका–१० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट भारतीय महिलाको मृत्यु भएको थियो ।

पुनर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणबाट मानिसको ज्यान गएपछि त्यस क्षेत्रका बासिन्दामा त्रास बढेको हो । बाघले महिलाको ज्यान लिएको खप्टी नालासहित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीले साइरन बजाएर गाडीमा गस्ती गरिरहे पनि अझैसम्म स्थानीयवासीमा बाघको त्रास कम हुन नसकेको वडानं ८ का अध्यक्ष बिसराम रानाले बताए । 

त्यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग भएर दिनमा मानिसको ओहोरदोहोर भए पनि राति भने आवतजावत निकै कम भएको छ ।

बाघले महिलामाथि आक्रमण गरेको खप्टी नाला क्षेत्रमा घना जङ्गल छैन तर करिब दुई किलोमिटर क्षेत्रमा रहेको घना झाडी भने सफा गर्ने तयारी गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update