Sagun Khabar
दोधारा चाँदनीमा सुख्खा बन्दरगाह तीन वर्षभित्र बन्छ : लेखक

कञ्चनपुर –नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा तीन वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरिने बताएका छन् । 

नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले सुख्खा बन्दरगाह निर्माणको लागि भारतसँग चाँडै एमओयू हुने बताए ।

Atrya hospital

‘सुख्खा बन्दरगाह भारतले बनाइदिने सहमति भइसकेको छ, एमओयू मस्यौदा पठाइसकेको छ, प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा एमओयू हुन्छ,’ उनले भने, ‘तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौताको चरणमा छ।’

कञ्चनपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित कांग्रेस केन्द्रीय सदस्य समेत रहेका लेखकले कञ्चनपुरलाई ठूलो व्यापारिक, औद्योगिक र पर्यटकीय नाकाको रुपमा विकसित गरिने बताए ।

महाकाली करिडोर अन्तर्गत कञ्चनपुरदेखि चीनको सीमासँग जोडिएको दार्चुलाको तिंकरसम्मको सडकको ट्रयाक खोल्ने काम सुरु गरिएको उनले बताए ।

‘महाकाली करिडोर दशकअघिको सपना हो, रुख कटानको आदेश नहुँदा २÷३ वर्षदेखि काम गर्न सकिएको थिएन,’ लेखकले भने, ‘रुख कटानको निर्णयपछि गरेर ट्रयाक खोल्ने काम सुरु भएको छ, यो चाँडै सकिन्छ ।’

मझगाउँ विमानस्थल सञ्चालनमा देखिएको अल्झन सुल्झाउने प्रयास गरिरहेको उनले उल्लेख गरे । फरक प्रसंगमा प्रमुख सचेतक लेखकले उपनिर्वाचनको परिणामले पुराना राजनीतिक दलहरुलाई सोच्नु पर्ने अवस्था सिर्जना गरेको बताए ।

जनताले अभिव्यक्त गरेको मतलाई स्वीकार गर्नुपर्ने बताउँदै उनले यसपटकको चुनावमा नयाँ राजनीतिक दल उदाएपछि जनतामा आशाको सञ्चार गरेको समेत बताए । राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सामेल गराउने गरी छलफल भइरहेको उनले बताए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update