काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।
आइतवार आज ७३औँ प्रजातन्त्र मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप नागरिकको अवस्था बदल्न सरकार क्रियाशील रहेको पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको उल्लेख गरे ।
उनले देशको राजनीति र अर्थतन्त्रले सङ्कटपूर्ण परिस्थितिको सामना गरिरहेको भन्दै नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै नागरिकको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत सुशासनको प्रत्याभुत दिलाउन लागिपरेको बताए ।
उनले अर्थतन्त्रका चुनौतीहरूको सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा देशमा दिगो शान्ति स्थापित गर्न सरकार दृढ रहेको बताए ।
प्रधानमन्त्री दाहालले प्रजातन्त्र दिवसको अवसरमा आन्दोलनहरूप्रति उच्च सम्मानसहित समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण आग्रह गरे । उहाँले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट नागरिकलाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप नागरिकको अवस्था बदल्ने महत्त्वपूर्ण कार्यभार आफ्ना सामु रहेको बताए ।