Sagun Khabar
बैतडीमा छोटो दुरीमा चल्ने सवारी साधनको नयाँ भाडादर कायम 

बैतडी–बैतडीमा छोटो दुरीमा चल्ने सवारी साधनको नयाँ भाडादर कायम गरिएको छ । 

यातायात साधनहरुले विभिन्न वाहना देखाइ बढी भाडा असुल गरिरहेको व्यापक जनगुनासो आएपछि भाडा समायोजन मापदण्डका आधारमा नयाँ भाडादर कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यातायात व्यवसायीका प्रतिनिधिसहित मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नयाँ भाडादर कायम गरेको हो । तोकिएको नयाँ भाडादरको सूची अनिवार्य टाँस्न भनिएको छ भने तोकिएको भन्दा बढी भाडा लिएमा कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

विभिन्न ४० रुटको भाडादर तोकिएको र त्यो भन्दा बाहेकका जिल्लाका कच्ची सडकहरुमा प्रति किलोमिटर १० रुपैयाँ २ पैसाका दरले नयाँ भाडादर तोकिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

नयाँ भाडादर अनुसार गोठलापानी–सतबाँझको भाडा १ सय ४४ रुपैयाँ कायम गरिएको छ भने गोठलापानीबाट खोड्पेको ३ सय ६० रुपैयाँ कायम गरिएको छ । यस्तै झुलाघाटबाट बित्थडको ६ सय ६० रुपैयाँ भाडा कायम गरिएको छ भने गोठलापानीबाट गोकुलेश्वरको ४ सय ४४ रुपैयाँ भाडा कायम गरिएको छ । 

यस्तै ढोल्यामोडदेखि पुर्चौंडी हाटसम्मको भाडा २ सय रुपैयाँ कायम गरिएको छ भने गोठलापानीदेखि डडेल्धुरासम्मको भाडा ५ सय ४ रुपैयाँ कायम गरिएको छ । 

तोकिएको भन्दा बढी भाडा नतिर्न र जबरजस्ती तिर्न लगाएमा प्रमाणसहित उजुरी गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । नयाँ तोकिएको भाडादर पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने नागरिकहरुले माग गरेका छन् । 

प्रशासनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भाडादरमा नागरिकहरुले प्रतिक्रिया जनाउँदै तोकिएको भाडादर कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । 

Jeep-ko-vada-1784031379.jpg
 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update