बैतडी–बैतडीमा पहिरो प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले गैरखाद्य सामग्री वितरण गरेको छ ।
गएको शनिबार दशरथचन्द नगरपालिका–४ खहरे पीपल नजिक पहिरो खस्दा स्थानीय दानीराम तिरुवाको घर भत्किएको थियो । पहिरोले घरमा क्षति पुगेपछि दानीरामको परिवार सुरक्षित स्थानमा सारिएको थियो ।
पहिरोका कारण घरबारविहिन भएका तिरुवाको परिवारलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले राहतस्वरुप विभिन्न सामग्री वितरण गरेको रेडक्रसकी स्वयंसेवक कुन्ती भट्टले बताइन् ।
रेडक्रस बैतडीका उपकोषाध्यक्ष सुदर्शन लेखकले तिरुवाकै घरमा पुगेर सोमबार गैरखाद्य सामग्री वितरण गरेका हुन् । पहिरो प्रभावित परिवारलाई सहज होस भनेर भाँडाकुँडा, त्रिपाल, कम्बल, बाल्टीन लगायतका गैरखाद्य सामग्री वितरण गरिएको लेखकले बताए ।
पहिरोबाट तिरुवाको परिवार समस्यामा परेकाले थप सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय सरकार लगायत अन्य सरोकारवालाहरुसँग समन्वय गरिने रेडक्रस बैतडीले जनाएको छ ।





