धनुषा – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल–भारत मैत्री युवा सङ्घ केन्द्रीय समितिले शुक्रवार जनकपुरमा आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले नेपालको विकास भए भारतलाई पनि फाइदा हुने भएकाले भारत सरकार नेपालको विकासमा आवश्यक सबै खालको सहयोग गर्न लागिपरेको बताए । जनकपुर–जयनगर रेल सेवा विस्तार गरेर जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा थप विकास गर्न भारत सरकार लागिपरेको उनको भनाइ छ ।
राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्ध जनस्तरमा नै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझै सृदृढ बनाउँदै लैजानुपर्ने पनि बताए ।
राजदूत श्रीवास्तवले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूमा थप सहयोग अभिवृद्धि गर्ने दिशामा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।