Sagun Khabar
दार्चुला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा 

दार्चुला –दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९ ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणापछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले जानकारी दिए । 

जिल्लाभरका १६ देखि २३ महिनासम्मका १ हजार ३२३ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । यस्तै जिल्लाभरीका २४ देखि ५९ महिनासम्मका ५ हजार १८९ जना बालबालिकाले पनि पूर्ण खोप प्राप्त गरेका छन् । पूर्ण खोप अभियानअन्तर्गत गरिएको सर्वेक्षणका क्रममा छुटेका ६ जना बालबालिकालाई समेत खोप लगाएपछि जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताइएको छ । 

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले खोप कार्यक्रम निकै प्रभावकारी रहेको र यसलाई निरन्तरता दिइने बताए । पूर्ण खोप जिल्ला घोषणा कार्यक्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरेका छन् । 

कार्यक्रममा जिल्लाका ९ ओटै स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चित पालिकाको प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update