
बैतडी –स्थानीय तहको निर्वाचन नजिक आएसंगै राजनीतिक दलहरुले बैतडीमा चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । सबै पार्टीहरुले अहिले चुनावी अभियानालाई प्राथमिकतामा राखेर प्रचारप्रसार गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर नेकपा एमालेले पालिकास्तरीय प्रशिक्षण गरिरहेको एमालेका केन्द्रिय सदस्य एवं जिल्ला सहइन्चार्ज लिलाधर भट्टले बताए । चुनावलाई मध्यनजर गरेर प्रशिक्षणात्मक अभियान सञ्चालन गरिएको उनले बताए ।
यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशी फागुन अन्तिम सातादेखि बैतडीमै रहेका छन् । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि केन्द्रिय प्रतिनिधिको रुपमा उनी बैतडी आएका हुन् । अहिले सबै पालिका र वडामा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’अभियान सञ्चालन भईरहेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
यस्तै नेकपा माओवादी केन्द्रले चुनाव लक्षित जनप्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर प्रत्येक पालिकामा अभियान सञ्चालन भईरहेको माओवादी केन्द्र बैतडीका सचिव रमेश चन्दले बताए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घरदैलो अभियान शुरु गरेको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर अहिले कार्यकर्ता भेटघाट कार्यक्रम चलिरहेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।
बैतडीमा स्थानीय तहको निर्वाचनका लागि १५ दल दर्ता भएका छन् । अन्य साना दलले भने चुनावको प्रचारप्रसार थालिसकेका छैनन् ।