बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका –८ लामुनीमा सोमबार राति खसेको पहिरोका कारण ११ परिवारका ७१ जना जोखिममा परेका छन् ।
११ परिवारमध्ये गणेशदत्त जोशीको घर भने बस्न नमिल्ने गरेर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले जानकारी दिए । परिवारका सातजनासहित उनी अहिले आफन्त घरमा आश्रय लिएर बसीरहेका छन् ।
सोमबार राति खसेको पहिरोले जोशीसहित ११ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका प्रहरी निरीक्षक तिमिल्सैनाले बताए ।
स्थानीय रघुनाथ जोशी, बल्देव जोशी, गोविन्द जोशी, परमानन्द जोशी, पदमराज जोशी, हिराप्रसाद जोशी, काशी भण्डारी, दत्तराज जोशी, अम्बादत्त जोशी र चन्द्रदेव जोशीको घर पनि पहिरोको उच्च जोखिममा रहेको छ ।
लामुनीमा बर्षौंदेखि पहिरोले क्षति पुर्याउँदै आएको र अहिले पहिरो गाउँतिर फर्केपछि विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको स्थानीय पदमराज जोशीले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीले १० ओटै स्थानीय तह र सरोकारवालाहरुलाई बाढी पहिरोबाट भएको क्षतिको एकीन विवरण पठाउन आग्रह गरेको छ । प्रशासनले असोज ५ गतेभित्र विवरण पठाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
यस्तै असोज ७ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक समेत बोलाइएको उनले बताइन् ।




