बैतडी–बैतडी सदरमुकाम खलङ्गास्थित प्रसिद्ध जगन्नाथ मन्दिरको पुनर्निर्माणका लागि स्थानीय समुदाय अग्रसर भएका छन् । मन्दिरको पुनर्निर्माणका लागि करिब एक करोड रुपैयाँको लागत अनुमान तयार गरिएको छ ।
पुरातत्व विभागको सम्पदा सूचीमा रहेको धार्मिक आस्थाको धरोहर जगन्नाथ मन्दिर पुनर्निर्माण गर्न चन्दा आह्वान गर्दा एक महिनामै २५ लाख ५० हजार रुपैयाँ सहयोग जुटेको छ । समितिका सदस्य पुष्कर ठगुन्नाले मन्दिरको जीर्णोद्धार गर्न मूल्य अभिवृद्धि कर (भ्याट) सहित ९५ लाख २८ हजार १७६ रुपियाँको प्राविधिक लागत अनुमान तयार पारिएको बताए ।
समुदायको अगाध श्रद्धास्थलको रुपमा रहेको जगन्नाथ मन्दिर पुनर्निर्माणका लागि महाअभियान सञ्चालन गरिएको उनले बताए । विकासका लागि सरकारी बजेटको मुख ताक्ने प्रवृतिको अन्त्य गर्दै आफूहरुले मन्दिर पुनर्निर्माणको अभियान सञ्चालन गरेको उनले बताए ।
मन्दिर पुनर्निर्माण समितिका संयोजक पदमसिंह ठगुन्नाका अनुसार पुर्खाको नासो र आफ्नो सांस्कृतिक पहिचानलाई जीवन्त राख्न समुदायले देखाएको यो उत्साह, एकता र समर्पण देखाएको बताए । ऐतिहासिक धरोहारको रुपमा रहेको जगन्नाथ मन्दिर पुनर्निर्माणका लागि समुदाय सक्रिय भएको उनले बताए ।
जगन्नाथ मन्दिर पुनर्निर्माणका लागि स्वस्र्फूत रुपमा चन्दा संकलन भइरहेको स्थानीय मोहित भण्डारीले बताए ।




