Sagun Khabar
बैतडीको सुर्नया ४ मा गरिएको तालाबन्दी खोल्ने सहमति 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाको वडा नं ४ मा गरिएको तालाबन्दी खोल्ने सहमति भएको छ । शनिबार गाउँपालिकामा भएको छलफलबाट ताला खोल्ने निर्णय भएको संघर्ष समिति संयोजक हरिश कुँवरले बताए । आफूहरुले राखेका १४ बुँदे मागप्रति स्थानीय सरकारले सकारात्मक भएको र लिखित प्रतिबद्धता जनाएपछि ताला खोल्ने निर्णय भएको उनले बताए । 

स्थानीयहरुले प्रधानमन्त्री रोजागार कार्यक्रमको फारम भर्दा पूर्वाग्रहपूर्ण व्यवहार गरेको भन्दै गएको फागुन २७ गते तालाबन्दी गरेका थिए । आफूहरुका माग सम्बोधन गर्ने प्रतिबद्धतापछि आइतबार ताला खोलिने कुँवरले बताए । 

यस्तै ताला खोल्ने बिषयमा केही दिन पहिला भएको छलफलका क्रममा हातपात गर्नेहरुले माफी समेत मागेका छन् । छलफलका क्रममा गाउँपालिकाका न्यायिक शाखा प्रमुख रामबहादुर महरामाथि हातपात भएको थियो भने जनप्रतिनिधिहरुलाई गालीगलौज गरिएको थियो । 

संघर्ष समिति र पालिकाकाबीचमा सहमति भएर ताला खोल्ने निर्णय भएको सुर्नया गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष दिनेशप्रसाद भट्टले बताए । छलफलमा संघर्ष समितिका प्रतिनिधि,गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट, वडा नं ४ का वडा अध्यक्ष दिनेशप्रसाद भट्ट, प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्ट लगायतको सहभागिता रहेको थियो । 
भोलीदेखि नै वडाका सेवा सुचारु हुने बताइएको छ ।   
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update