
बैतडी –नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सञ्चालन गरेको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत आज बैतडीको सुर्नया अभियानको शुरु गरिएको छ । १० ओटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने क्रममा आजदेखि सुर्नया पनि अभियान शुरु भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
सुर्नयाको सतबाँझमा अभियानको शुरुवात गर्दै कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशीले आगामी निर्वाचनमा कांग्रेसलाई मत दिनुपर्ने बताए । देशमा लोकतन्त्रको संस्थागत विकास, संविधानको सफल कार्यान्वयन र विकासका लागि कांग्रेसलाई मत दिनुपर्ने उनले बताए ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ६४ जनाले कांग्रेसमा प्रवेश गरेको सचिव जोशीले बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशी, नेपाली कांग्रेस सुदूरपश्चिमका उपसभापति लोकराज अवस्थी, जिल्ला सभापति चतुरबहादुर चन्द, जिल्ला सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
अभियान अन्तर्गत भोली दशरथचन्द नगरपालिका वडा नं २ देहीमाण्डौंमा कार्यक्रम हुने नेपाली कांग्रेस बैतडीले जनाएको छ ।