
बैतडी –बैतडीमा पछिल्लो समयमा प्रहरीले सूचना दिन आनाकानी गर्ने गरेको छ । धेरै जसो घटनाका सूचना प्रहरीसंगै हुने भएकाले सूचना माग्न खोज्दा आनाकानी गर्ने गरिएको हो । यो भन्दा पहिला जिल्ला प्रहरी कार्यालयले इमेल मार्फत समेत जानकारी दिने गरेकोमा पछिल्लो समयमा त्यो पनि छोडेको छ ।
जिल्ला प्रहरी कार्यालय मार्फत सूचना माग्दा कैयौं पटक फोन गरेर मात्रै बल्ल सूचना पाउने अवस्था रहेको छ । सञ्चारकर्मका लागि प्रहरीको सूचना ज्यादै महत्वपूर्ण भएपनि बैतडीमा भने पछिल्लो समयमा सूचना पाउन निकै मुस्किल भएको छ ।
सूचनाका लागि जिल्ला प्रहरी प्रमुखको अफिसियल नम्बरमा फोन गरे पनि सूचना पाउन मुस्किल हुने गरेको छ । दुर्घटना, सामाजिक अपराध, हत्याहिंसा लगायतका घटनाहरुको महत्वपूर्ण जानकारी प्रहरीसंग हुने भएपनि ती सूचनाहरु समयमा पाउन मुस्किल भईरहेको छ । सञ्चार क्षेत्रबाटै सूचना पाउन मुस्किल भएका बेला अन्य नागरिकले प्रहरीबाट कसरी सूचना प्राप्त गर्लान यो प्रश्न निकै गम्भीर रुपमा अगाडि आएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले भने सूचना पुष्टि गर्न समय लाग्ने भएकाले केही ढिलाई हुने गरेको बताए । तर एउटै बिषयका लागि समेत बारम्बार सम्पर्क गर्दा सूचना पाउन नसक्ने स्थिती रहेको छ । दिन मिल्ने सूचनामा समेत प्रहरीले सूचना ढिलाई गर्ने गरेको छ ।