
बैतडी- बैतडी सहित सुदूरपञ्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा बर्षा र हिमपात भइरहेको छ । मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । अझै तीन÷चार दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।
अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले पूर्ण रुपमा मौसम खुल्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनेछ । बाँकी प्रदेश–१, २ र वाग्मती प्रदेशमा भने सामान्यदेखि आंशिक बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हुस्सु र कुहिरो लागेको छ । मौसमविद् नगरकोटीका अनुसार बिहान र बेलुका हुस्सु र कुहिरो लागेर मौसम धुम्म देखिने गरेको छ । हुस्सुले हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएको छ ।