Sagun Khabar
संसद्को उद्योग समितिबाट राजीनामा दिने सांसद भण्डारीको घोषणा

बैतडी –बैतडीबाट निर्वाचित सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले जनतालाई ग्यास दिन नसकेको विषयमा आपत्ति जनाउँदै उक्त समितिको सदस्य पदबाट राजीनामा दिने बताएका हुन् । 

राज्यले बाटो बिग्रेको ठाउँमा बोकेर पनि ग्यास दिनुपर्ने उनले बताए । उनले भने, ‘अहिले राज्यमा ग्यास पनि दिन सकेका छैनौं ।  बोकेर पनि दिनुपर्छ । सामान्य डेलिभरि पनि दिन सक्दैनौं भने परिवर्तनको के काम ? म पनि उद्योग समितिमा छु । म राजीनामा दिन्छु । नैतिकताको आधारमा मेरो पनि जिम्मेवारी छ । म बस्न कसरी सक्छु ? मैले साथीहरूलाई पनि भनिसकेको छु ।’

उनले गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले धेरै कुरा दिए पनि राज्यलाई आफूहरूले केही दिन नसकेको उनको भनाइ थियो । उनले जेनजी शहीदको सम्झनामा भव्य पार्क निर्माणको पनि माग गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update