कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकार बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्न गम्भीर रहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश बादी उत्थान विकास समितिको सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकार गरिब, असहाय र भुइँमान्छेको सरकारका रूपमा स्थापित गर्नेगरी आगामी बजेट तथा कार्यक्रम निर्माणको तयारी भइरहेको बताए ।
महिला, गरिब, असहाय, बालबालिका, नवयुवा, बादी तथा सुकुम्बासी समुदायमैत्री सरकार निर्माणसँगै सुशासनयुक्त शासन व्यवस्थालाई प्राथमिकतामा राखेर बजेट निर्माणको तयारीसमेत भइरहेको उनको भनाइ छ ।
भट्टले राज्यमा अझै पनि असमानता र विभेद कायम रहेको भन्दै त्यसको अन्त्यका लागि राज्यले गर्नुपर्ने धेरै काम बाँकी रहेको उल्लेख गरे । दश वर्षे जनयुद्धले दलित तथा बादी समुदायमाथि हुने धेरै प्रकारका विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
मुख्यमन्त्री भट्टले आगामी बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । दलित समुदायमाथिको छुवाछुतपूर्ण रूपमा अन्त्य गर्दै उनीहरूको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने गरी कार्यक्रम तथा योजना अघि बढाइने उनले बताए ।
प्रदेशको औचित्य पुष्टि हुनेगरी बजेट निर्माण गरिने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले बादी समुदायका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।




