Sagun Khabar
छोटो दुरीका सवारी साधनमा भाडादर टाँसे नटाँसेको बैतडी ट्राफिक प्रहरी  द्वारा अनुगमन सुरू
फाइल फोटो

बैतडी– जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जिल्लामा सञ्चालित छोटो दुरीका सवारी साधनमा भाडादरको सूची टाँसे नटाँसेको अनुगमन गर्न सुरू गरेको छ । यस अघि नै भाँडादर टाँस गर्न जानकारी गराइसकेको भए पनि अटेर गरेको पाइएकोले अनुगमन गरेर कार्वाहीको दायरामा ल्याउने हेतुले प्रहरीले यो अभियान चलाएको हो  । 

जिल्लामा भाडादर टाँस्न पटक पटक आग्रह गरेको र अबका दिनमा भाडादर नटाँसि सवारी गुडाउने चालकहरूलाई कार्वाहीको दायरामा ल्याउने गरि अनुगमन गरिरहेको ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख सहायक निरिक्षक आकाश रावलले बताए । 

भाडादरको सूची नहुँदा यात्रु ठगिने सम्भावना बढेकाले यो अभियान सञ्चालनमा ल्याएको सहायक निरिक्षक रावलले बताए । भाडादर भन्दा बढी भाडा नतिर्न र बढी भाडा लिएमा ट्राफिक प्रहरीलाई जानकारी दिन समेत आग्रह गरिएको छ । भाडादरको सुचि  टाँस्न अनिवार्य गरिएपनि यातायात व्यवसायीले कच्ची सडकमा भने  मनोमानी भाडा लिने गरेको गुनासो आइरहेको छ ।  

बैतडीमा एकदर्जन बढी कच्ची सडकमा जिपहरु सञ्चालन हुने गरेका छन् । कच्ची सडकमा जिप व्यवसायीले मनोमानी भाडा लिँदा यात्रुहरु मारमा पर्ने गरेका छन् ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढे सगै थोरै भाडा दर  बढेको भएपनि चर्को दरमा भाडा लिने गरेको पाइएकोले गैरकानुनी कार्य नगर्न सचेत गराइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update