
बैतडी– बैतडीको पाटन नगरपालिका १ स्थित सिद्धेश्वर मावि मेल्चौरामा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गरिएको छ । विद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी दिन र बृहत यौनिकता शिक्षाका बिषयमा जानकारी दिन किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गरिएको विद्यालयका श्रोत शिक्षक गोपाल भट्टराईले बताए ।
किशोरकिशोरीमैत्री सूचना केन्द्रका लागि अलगै कोठाको व्यवस्थापन गरेर विभिन्न पाठ्यसामग्री राखिएको भट्टराईले बताए । उनले भने ‘हामीले अलगै कक्षाकोठाको व्यवस्थापन गरेर किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गरेका छौं । यसले किशोरकिशोरीहरुलाई आफ्ना समस्याका बिषयमा खुलेर छलफल गर्न सजिलो भएको छ ।’
किशोरकिशोरीमैत्री सूचना केन्द्रमा गएर किशोरकिशोरीहरु यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा अध्ययन गर्न सक्ने श्रोत शिक्षक भट्टराईले बताए ।
समाजमा रहेका विभिन्न हानिकारक प्रचलन हटाउन पनि सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
सिद्धेश्वर मावि मेलचौरामा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र फाया नेपालले सहयोग गरेको हो । सूचना केन्द्रमा विभिन्न पाठ्य सामग्री र भौतिक व्यवस्थापनका लागि सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।
पाटन नगरपालिकाका सबै वडाका माध्यमिक तहका विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि पहल भईरहेको बताइएको छ ।