Sagun Khabar
बैतडीमा इलाका प्रशासन पुर्चौडीबाट पनि  फोटोसहितको मतदाता नामावली संकलन

बैतडी –जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली संकलन गर्न सक्ने व्यवस्था गरेको छ । अगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन कार्य थालिएको हो । 

निर्वाचन आयोगले इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन कार्य गर्न दिएको निर्देशन अनुसार नै नामावली संकलन कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रम्ुख माधव फुयाँलले जानकारी दिए ।  यसै हप्ताबाट सुरु भएको नामावली संकलन कार्य पुस १९ गतेसम्म सञ्चालन हुने जनाइएको छ । इलाका प्रशासनबाट नेपाली नागरिकता प्रमाणपत्र जारी हुने भएकोले नागरिकता पाउनेवित्तिक्कै नामावलीमा नाम दर्ता गराउनको लागि उक्त व्यवस्था गरिएको हो ।

हालसम्म ९८ जनाले आफ्नो नाम दर्ता गराइसकेका त्यहाँ खटिएका दर्ता कर्मचारी दीपेन्द्र धामीले जानकारी दिए ।  
जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट भने नियमित रुपमा नामावली संकलन कार्य जारी रहेको छ ।  यी दुई स्थानमा भने आयोगको अर्को आदेश नआउँदासम्म सञ्चालन हुनेछ ।  

आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ ।  नामावलीमा नाम दर्ता गराउन आउँदा नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य गरिएको छ ।  

बैतडीमा हालसम्म १ लाख ४८ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update