
बैतडी–बैतडीको पाटन नगरपालिकाले विद्यालयहरुमा वितरण गरेका सेनेटरी प्याडहरु नगरपालिकामै फिर्ता गर्ने विद्यालयहरुले तयारी गरेका छन् । प्रयोग गर्न नमिल्ने खालका र कमसल प्याडहरु विद्यालयमा पठाएपछि फिर्ता गर्ने तयारी भएको ज्ञानेश्वर नमूना माविका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए ।
विद्यालयमा १७ बोरा सेनेटरी प्याड पठाएकोमा किशोरीहरुले प्रयोग गर्न नमिल्ने खालका भएपछि फिर्ता पठाउने तयारी भएको उनले बताए । उनले भने ‘नगरपालिकाले ठूलो धनराशी खर्च गरेर प्याड खरीद गरेको छ । तर प्रयोग गर्नै नमिल्ने खालका प्याड किनेर विद्यालयमा पठाएको छ । हामी यी प्याडहरु नगरपालिकामै पठाउने तयारी गरिरहेका छौं ।’
नगरपालिकाले विद्यालयमा पठाएका प्याडहरु कमसल खालका भएका र प्रयोग गर्न नसकिने भएकाले आफूहरुलाई निकै समस्या भएको ज्ञानेश्वर माविकी छात्रा लक्ष्मी भण्डारीले बताइन् । सरकारले छात्राहरुको सजिलोका लागि निशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्ने निती लिएको भएपनि आफूहरुलाई प्याड नै नमिलेको उनले गुनासो गरिन् । उनले भनिन् ‘सरकारले प्याड खरीदका लागि पठाएको रकममा किन हिनामिना भएको छ । यसको सोधीखोजी नगरपालिकाले गर्नुपर्छ ।’
नगरपालिकाले विद्यालयहरुमा पठाएका सेनेटरी प्याडहरु कमसल भएकाले नगरपालिकामै फिर्ता गर्नुको विकल्प नरहेको कृष्ण मावि पाटनका प्रधानाध्यापक विरेन्द्र केसीले बताए । उनले भने ‘हामीलाई नगरपालिकाबाट प्राप्त प्याडहरु नक्कली छन् । ती प्याडहरु किशोरीहरुले प्रयोग गर्न मान्दैनन् । त्यसैले हामी अब नगरपालिकामै फिर्ता पठाउँछौं ।’
पाटन नगरपालिकाले भने टेण्डर प्रक्रियाद्वारा प्याड किनेकाले ठेकेदारले बदमासी गरेको बताएको छ । टेण्डर प्रक्रियाद्वारा किनिएका प्याडहरु कमसल खालका भएका गुनासो सबैतिर आएकाले यो बिषयमा नगरपालिकाले उपयुक्त निर्णय लिने नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए । उनले भने ‘सेनेटरी प्याड गुणस्तरहिन भएको बिषयमा हाम्रो ध्यानाकर्षण भएको छ । यसका लागि पालिकाले उचित कदम चाल्छ ।’