Sagun Khabar
बैतडीमा बृहत यौनिकता शिक्षा प्राविधिक समूहको बैठक सम्पन्न

बैतडी–बैतडीमा बृहत यौनिकता शिक्षा प्राविधिक समूहको बैठक सम्पन्न भएको छ । पाटन नगरपालिकामा गठन गरिएको समूहको बैठक मंगलबार सम्पन्न भएको हो । पाटन नगरपालिकाका प्रवक्ता एवं समूहका संयोजक लोकबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको बैठकले बृहत यौनिकता शिक्षा सम्बन्धि यो बर्ष भएका क्रियाकलापको समीक्षा गरेको छ । 

यस्तै आगामी दिनमा बृहत यौनिकता शिक्षाका बिषयलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल समेत भएको छ । पाटन नगरपालिका र नेपाल परिवार नियोजन संघ शाखा पाटन बैतडीको संयुक्त आयोजना भएको बैठकका सहभागीहरुले बृहत यौनिकता शिक्षाका बिषयहरुलाई अब विस्तार गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । 

बैठकमा बोल्दै कृष्ण मावि पाटनका प्रधानाध्यापक विरेन्द्र केसीले विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना गर्नुपर्ने र यसमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताए । 

यस्तै पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बृहत यौनिकता शिक्षाका बिषयमा विद्यालयबाटै ज्ञान दिनुपर्नेमा जोड दिए । यो स्वास्थ्यको बिषयमा मात्रै नभएर सबै बिषयसंग एकीकृत गरेर अगाडि बढाउनुपर्ने बताए । 

यस्तै पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि पालिकाले पहल गर्ने बताए । यस्तै विद्यालयमा सेनटरी प्याड व्यवस्थापनका लागि इन्स्युनेटर बनाउन पनि पहल गर्ने उनले बताए । 

बैठकमा नेपाल परिवार नियोजन संघ शाखा पाटन बैतडीका प्रबन्धक उद्धव भट्टले शाखाले बृहत यौनिकता शिक्षा अन्तर्गत यो बर्ष गरेका कामको बारेमा जानकारी गराए । यस्तै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बृहत यौनितका शिक्षा सम्बन्धिक विभिन्न निकायसंग मिलेर गरेका काम र प्रगतिको बारेमा जानकारी गराए । 
 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update