Sagun Khabar
बैतडीमा बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने कार्य शुरु 

बैतडी –बैतडीमा आजदेखि बालबालिकाहरुलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउने कार्य शुरु भएको छ । जिल्लाका १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमै गएर खोप लगाउने कार्य शुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले जानकारी दिए ।

जिल्लाको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा आजदेखि बालबालिकाहरुलाई खोप लगाउने कार्य शुरु भएको हो । जिल्लाभरी १२ देखि १७ बर्ष उमेर समूहका बालबालिका ३८ हजार ८१२ रहेका छन् । पुर्चौंडी नगरपालिकामा ६ हजार ४४७, सिगास गाउँपालिकामा ३ हजार ६२८ र डिलाशैनी गाउँपालिकामा ३ हजार ३८३ बालबालिका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । यी तीन पालिकामा पौष ८ गते सम्म खोप लगाइनेछ । 

यस्तै दशरथचन्द नगरपालिका , पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पुस ७ देखि ९ गते सम्म खोप लगाइनेछ । यस्तै मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० सम्म  खोप लगाइने खोप सुपरभाइजर निरीक्षक भट्टले बताए । 

सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुने बताइएको छ । विद्यालयमै खोप लगाउने व्यवस्था मिलाएकाले निर्धक्क भएर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । खोप अभियान अन्तर्गत सबै पालिकाहरुमा खोप पुर्याईसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

बैतडीमा १८ बर्षमाथिका ९० हजार नागरिकले कोरोना विरुद्धको पहिलो खोप पाएका छन् भने ७५ हजार बढीले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update