
बैतडी–बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बैतडीमा ट्राफिक प्रहरीले सचेतना अभियान थालेको छ । पछिल्लो समयमा सवारी दुर्घटनाका कारण धनजनको क्षति हुन थालेपछि सचेतना अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए । उनले भने ‘अहिले हामीले जिल्लाभरी चेकजाँच बढाएका छौं । सवारी साधनमा सीट क्षमता अनुसार मात्रै यात्रु बोक्न दिईरहेका छौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई कारवाही गरिरहेका छौं ।’
जिल्लाका सबै जसो क्षेत्रमा सवारी चेकजाँच गरिरहेको रावलले बताए । सदरमुकाम, सतबाँझ, पाटन, खोड्पे लगायतका ठाउँमा सवारी साधन चेकजाँच गरिरहेको उनले बताए । यी ठाउँबाट ग्रामीण क्षेत्र जाने सवारी साधनहरुमा समेत चेकजाँच गर्ने गरिएको रावलले बताए ।
सवारी चालकहरुले लाइसेन्स बोके नबोकेको हेर्ने, मापसे गरे नगरेको चेकजाँच गर्ने, सवारी साधनहरुका कागजपत्र हेर्ने र सीमित गतिमा सवारी साधन चलाए नचालएको अनुगमन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै छोटो दुरीका सवारी साधनहरुमा अनिवार्य भाडादरको सूची राख्न लगाएको र सूची अनुसार मात्रै भाडा तिर्न उनले यात्रुहरुलाई आग्रह समेत गरेका छन् ।
ट्राफिक प्रहरीले सचेतना अभियान सञ्चालन गर्दा सवारी दुर्घटना कम गर्न सहयोग मिल्ने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘सवारी दुर्घटना कम गर्नका लागि ट्राफिक प्रहरीले थालेको अभियान निकै सराहनीय छ । यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्दछ ।’
बैतडीमा पछिल्लो समयमा ग्रामीण कच्ची सडकहरुमा बढी सवारी दुर्घटना भईरहेकाले त्यतातर्फ ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने नागरिकको सुझाव छ ।
बैतडीमा चालु आर्थिक बर्षमा अहिले सम्म सवारी दुर्घटनामा परेर १५ जनाको ज्यान गईसकेको छ । मंसिर महिनामात्रै भएका दुईओटा जिप दुर्घटनामा ११ जनाको ज्यान गएको थियो ।