Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जमानी जात्रा आज 
फाइल फोटो

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौं स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज जमानी जात्रा लागेको छ । हरेक बर्षको मंसिर शुक्ल पूर्णिमाका दिन सो मन्दिरमा जमानी जात्रा लाग्ने गरेको स्थानीय संस्कृतिका जानकार कविराज भट्टले बताए । 

अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भएपनि यो जात्रामा कुनै प्रकारको बलि नहुने उनले बताए । जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको छ । निङ्गलाशैनी भगवतीको भण्डार प्रर्दशन हुने भएकाले टाढाका भक्तजनहरु दर्शनका लागि आउने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए । 

Atrya hospital

हरेक बर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको बिशेष पूजाआजा हुने गरेको छ । सो जात्रामा नेपालका मात्रै नभएर दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेका छन् । 

निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुर्दशी, असोजको नवरात्र र धान्य पूर्णिमका दिन बिशेष पूजाआजा सहित जात्रा लाग्ने गर्दछ । 

जात्रामा निङ्गलाशैनी भगवतीको उत्पतिसंग जोडिएको ठाडो खेल खेल्ने चलन रही आएको छ भने ड्यौडा समेत खेल्ने गरिएको छ । यस्तै जात्रामा स्थानीय उत्पादनहरुको समेत विक्रि वितरण हुने गर्दछ । 

जात्रालाई व्यवस्थित बनाउन देहीमाण्डौं बजार क्षेत्रलाई मदिरा निषेधित बनाइएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।  
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update