बैतडी– बैतडीमा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई पौष ६ गतेदेखि कोरोना विरुद्धको खोप दिइने भएको छ । जिल्लाका ३२७ ओटा विद्यालयहरु मध्ये २७९ ओटा विद्यालयमा खोपकेन्द्र तोकिएको र ती विद्यालयहरुबाट कोरोना विरुद्धको मोर्डना खोप दिइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले जानकारी दिए । जिल्लामा १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरु ३८ हजार ८१२ भएपनि ३१ हजार ६४० डोज खोप मात्रै प्राप्त भएको उनले बताए ।
अपुग खोप कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा खोप समन्वय समितिको आइतबार बैठक बसेर छलफल गरिने भट्टले बताए ।
जिल्लाको पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा पौष ६ गतेदेखि ८ गते सम्म खोप लगाइने छ भने दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पौष ७ देखि ९ गते सम्म खोप लगाइनेछ ।
यस्तै मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा पौष ९ र १० गते खोप लगाइनेछ भने सुर्नया गाउँपालिकामा पौष १० र ११ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
१२ देखि १७ बर्ष उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमै रहेकाले विद्यालयमा खोप केन्द्र तोकिएका खोप सुपरभाइजर निरीक्षक भट्टले बताए । जिल्लामा १२ देखि १७ बर्ष उमेर समूहका ३८ हजार २२९ जना विद्यालयमा अध्ययनरत बालबालिकाहरु छन् भने ५८३ जना विद्यालय बाहिर रहेका छन् ।