Sagun Khabar
बैतडीका स्थानीय तहले वितरण गरेका सेनेटरी प्याड नक्कली 

बैतडी –बैतडीका स्थानीय तहहरुले विद्यालयमा वितरण गरेका सेनेटरी प्याडहरु कमसल खालका भएका गुनासो आउन थालेको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र सुर्नया गाउँपालिकाले विद्यालयहरुमा वितरण गरेका सेनेटरी प्याडहरु गुणस्तरीय नभएका छात्राहरुले बताएका छन् । 

पाटन नगरपालिकाले विद्यालय दिएका सेनेटरी प्याडहरु प्रयोग गर्न नसकिने अवस्थाका रहेका ज्ञानेश्वर माविका छात्रा मञ्जु भण्डारीले बताइन् । उनले भनिन् ‘यी प्याडहरु प्रयोग गर्न नसकिने खालका छन् । विद्यालयमा दिएका प्याडहरुलाई प्याड भन्दा पनि प्याड पेपर भन्नु उपयुक्त होला ।’

विद्यालयमा १४ बोरा सेनेटरी प्याड थन्किएको र ती प्याडहरु अब नगरपालिकामै फिर्ता गर्ने ज्ञानेश्वर माविका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । उनले भने ‘नगरपालिकाले गुणस्तरहीन प्याड उपलब्ध गराएको छ । यो कसरी खरीद भयो ? कसको मिलमतो हो ? यो नगरपालिकालाई थाहा होला तर हामी यी प्याडहरु नगरपालिकामै फिर्ता गर्ने तयारीमा छौं ।’

Atrya hospital

सुर्नया गाउँपालिकाले पनि वितरण गरेका सेनेटरी प्याडहरु गुणस्तरीय नभएका शंकर संस्कृत मावि मूलखटालीका शिक्षिका रेखा अवस्थीले जानकारी दिइन् । उनले भनिन् ‘पालिकाबाट प्राप्त प्याडहरु हामीले किशोरीहरुलाई वितरण गर्यौं । उनीहरु राम्रो प्याड दिनु म्याडम भन्छन् अब हामीहरुले कहाँबाट दिने ? पालिकाले गुणस्तरहीन प्याड पठाएको छ ।’

विद्यालय प्राप्त भएका सेनेटरी प्याडहरु किशोरीहरुले प्रयोग गर्न नमिल्ने खालका छन् । प्याडहरु पात्लो र बिना साइजको हुँदा प्रयोग गर्न नसकिने खालका रहेका शिक्षिका अवस्थीले बताइन् । 

यता पाटन नगरपालिकाले वितरण गरेका प्याडहरुलाई प्याड नै भन्न नमल्निे ज्ञानेश्वर माविका शिक्षिका सरस्वती धामीले बताइन् । ती प्याडहरु महिनावारी भएको बेला प्रयोग गर्न नमिल्ने खालका रहेका उनको भनाई छ । 

दशरथचन्द नगरपालिकाले वितरण गरेका प्याडहरु पनि नक्कली रहेका विरेन्द्र मावि शाहीलेकका शिक्षिका शान्ति चन्दले बताइन् । उनले भनिन् ‘किशोरीहरु महिनावारी भएको बेला रगत सोस्न सक्ने खालका प्याड हुनुपर्नेमा नगरपालिकाले दिएका प्याडहरु प्रयोग गर्नै नमिल्ने खालका छन् ।’

यो बिषयामा पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले नगरपालिकाले ठेक्का मार्फत प्याड खरीद गरेको र ठेकेदारले नमूना देखाउँदा राम्रै खालका प्याड देखाएकाले अब अनुगमन निरीक्षण गर्ने बताए । गुणस्तरहीन प्याड वितरण गरेको पाइएमा ठेकेदारलाई कारवाही गर्ने उनले बताए । 

दशरथचन्द नगरपालिकाले पनि अब दोश्रो पटक यो समस्या नदोहरिने बताईसकेको छ । दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले अबका दिनमा प्याड खरीद गर्दा ध्यान दिने बताए । 

सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख हिमांशु भट्टले भने आफू आउनुभन्दा पहिला नै प्याड खरीद गरिएकाले यो बिषयमा बुझ्ने जानकारी दिए । 

रेडियो निङ्गलाशैनीले दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत यौनिकता शिक्षा सम्बन्धि आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानीय तहहरुले वितरण गरेका प्याडहरु नक्कली भएका खुलेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update