Sagun Khabar
बैतडीको दनपाले वितरण गरेका प्याड कमसल भएको गुनासो 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले विद्यालयहरुमा वितरण गरेका सेनेटरी प्याड प्रयोग गर्न नमिल्ने खालका भएको गुनासो आएको छ । महिनावारी सरसफाईका लागि वितरण गरिने प्याड किशोरीहरुले नलिने गरेको विरेन्द्र मावि शाहीलेकका शिक्षिका शान्ति चन्दले जानकारी दिइन् । उनले भनिन् ‘नगरपालिकाले वितरण गरेका प्याडहरु कामै नलाग्ने खालका छन् । कुनै पनि छात्राले यी प्याडहरु प्रयोग गरेका छैनन् ।’

रेडियो निङ्गलाशैनीले सोमबार किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत यौनिकता शिक्षा सम्बन्धि आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले नगरपालिकाले विद्यालयहरुमा वितरण गरेका प्याडहरु कामै नलाग्ने खालका भएको बताइन् । 

Atrya hospital

नगरपालिकाले विद्यालयहरुमा गत शैक्षिक सत्रमा वितरण गरेका सेनेटरी प्याडहरु प्रयोग गर्न नमिल्ने खालका भएकाले किशारीहरुले नलिने गरेको उनले सुनाइन् । 

किशोरीहरुका लागि सहज होस भनेर खरीद गरेर वितरण गरिएका प्याडहरु प्रयोगमा आउन नसक्नु दुखद भएको शिक्षिका चन्दले बताइन् । नगरपालिकाभरीका विद्यालयमा वितरण गरिएका प्याडहरु काम नलाग्ने भएको उनले बताइन् । 

नगरपालिकाले नगर क्षेत्रभित्रका ५२ ओटा विद्यालयमा प्याड वितरण गरेको भएपनि प्रयोग गर्न नमिल्ने भएपछि किशोरीहरु आक्रोशित भएका छन् । करीब १७ लाखको लागतमा गत बर्ष नगरपालिकाले प्याड खरीद गरेको थियो । ठेक्का प्रणाली मार्फत खरीद गरिएका प्याडहरु कमसल आएको भन्ने गुनासो आएकाले अबका दिनमा त्यसलाई समाधान गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले जानकारी दिए । 

सार्वजनिक सुनुवाईमा उठेका प्रश्नको जवाफ दिँदै दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले त्यो समस्या समाधानका लागि नगरपालिकाले पहल गर्ने बताए । उनले भने ‘गुनासो आएपछि अब यो समस्या समाधानका लागि हामीले पहल गर्छौं । ठेक्का मार्फत खरीद भएका प्याडहरु गुणस्तरहीन हुनसक्छन् । त्यो कुरामा अबका दिनमा सुधार गरेर अघि बढ्छौं ।’

चालु शैक्षिक सत्रमा विद्यालयका शिक्षिकाहरुलाई तालिम दिएर स्थानीयस्तरमै प्याड उत्पादन गर्ने वातावरण सिर्जना गर्ने समेत चन्दले बताए । उनले भने ‘प्याडको समस्या समाधानका लागि हामी कसरी हुन्छ यसको समाधानमा लाग्छौं ।’

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update