Sagun Khabar
बृहत यौनिकता शिक्षाका बारेमा बैतडीका शिक्षक र अभिभावक सचेत हुँदै 

बैतडी –बैतडीमा बृहत यौनिकता शिक्षाका बारेमा शिक्षक र अभिभावक सचेत हुन थालेका छन् । बृहत यौनिकता शिक्षा मानव जीवनका लागि आवश्यक भएकाले यसका बारेमा जानकारी राख्नुपर्ने शिक्षक र अभिभावकहरुले बताएका छन् ।

बृहत यौनिकता शिक्षाका विद्यालय र समुदायस्तरमा जानकारी दिनका लागि अभिभावक र शिक्षकहरुलाई जानकारी दिन थालिएको छ । नेपाल परिवार नियोजन संघ शाखा पाटन बैतडीले दशरथचन्द नगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकहरुलाई बृहत यौनिकता शिक्षाका बारेमा अभिमुखीकरण तालिम दिएको हो । 

बृहत यौनिकता शिक्षाको बिषयमा जानकारी दिएर विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि सहज होस भनेर कार्यक्रम सञ्चालन गरिएको नेपाल परिवार नियोजन संघ शाखा पाटन बैतडीका प्रबन्धक उद्धव भट्टले जानकारी दिए । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल परिवार नियोजनक संघले विभिन्न विद्यालयहरुमा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापनाका लागि सहयोग गर्दै आएको छ । 

बृहत यौनिकता शिक्षाका बारेमा विद्यालय र समुदायस्तरमा चेतना फैलाउन सकेमा विभिन्न खालका यौन हिंसाहरुमा समेत कमी आउने नेपाल परिवार नियोजन संघ शाखा पाटन बैतडीका सभापति मानबहादुर चन्दले बताए । 

बृहत यौनिकता शिक्षाका बारेमा जानकारी दिनका लागि आइतबार र सोमबार बैतडीमा विद्यालयका प्रधानाध्यापक,सीएसई फोकल शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुसंग अन्तरक्रिया समेत सम्पन्न गरिएको नेपाल परिवार नियोजन संघले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update