Sagun Khabar
काल बन्दै बैतडीका ग्रामीण कच्ची सडक 

बैतडी –गएको सोमबार साँझ भएको जिप दुर्घटनामा ५ जनाको ज्यान गयो । पाटनदेखि कैलपाल जाँदै गरेको जिप कच्ची सडकमा दुर्घटना हुँदा नवविवाहित जोडी सहित ५ जनाले ज्यान गुमाए । सो दुर्घटनामा ५ जना घाइते भए । 
सिमसिम पानी परीरहेको थियो । साँझको समयमा कच्ची बाटोमा उकालोमा रोकेको जिप एक्कासी तल खसेपछि अकालमै मानिसहरुको ज्यान गयो । 

अहिले पनि सो दुर्घटनाका प्रत्यक्षदर्शी डराउने गरेका छन् । कच्ची सडकमा जि चिप्लिएको देख्नेहरु कच्ची सडक स्तरोन्नती हुनुपर्ने भनिरहेका छन् । ‘ग्रामीण सडकहरु बिना स्टमेट डोजरले खनिएका छन् । यी सडकहरु सुविधा भन्दा काल बनीरहेका छन् । यसमा स्थानीय सरकारहरुको ध्यान जानु आवश्यक छ ।’पाटन १ सकारका गोपाल भट्टराईले भने,‘ग्रामीण सडक सुधारमा कसैले ध्यान नदिँदा दुर्घटना बढ्दै गएका छन् ।’

Atrya hospital

ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार बैतडीमा चालु आर्थिक बर्षको अहिले सम्म सडक दुर्घटना परेर १५ जनाले ज्यान गुमाईसकेका छन् । मंसिर महिनामात्रै ११ जनाको ज्यान गएको छ । सडक दुर्घटनाको तथ्यांक हेर्दा कच्ची सडकमै बढी दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

गत आर्थिक बर्षमा जिल्लामा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका थिए । ती सवारी दुर्घटनामा परेर ७८ जना घाइते भएका छन् । 

गत आर्थिक बर्षमा भएका १४ ओटा सवारी दुर्घटना मध्ये ११ ओटा कच्ची सडकमा भएका प्रहरी निरीक्षक खड्काले जानकारी दिए । 

ग्रामीण कच्ची सडकहरु गुणस्तरीय नहुनु, मोडहरुमा समस्या हुनु, अनुभवी चालक नहुनु लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका उनले बताए । 

यस्तै ग्रामीण कच्ची सडकहरुमा ट्राफिक नियम पालना नहुनुले पनि सवारी दुर्घटना बढ्दै गएका छन् । ग्रामीण कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण पनि सडक दुर्घटना बढ्दै गएको सिगास गाउँपालिका ३ का राजेन्द्रसिंह धामीले जानकारी दिए । सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयासहरु भएपनि सडक दुर्घटनामा भने कमी आउन सकेको छैन् । 

ग्रामीण कच्ची सडकहरु स्तरोन्नती नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएकाले सडक स्तरोन्नतीमा ध्यान दिनुपर्ने सुर्नया ४ का बीरसिंह साउँदले बताए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update