Sagun Khabar
बैतडी जिप दुर्घटना : जोगेना र सकार गाउँ शोकमा डुब्यो 

बैतडी–सोमबार साँझ बैतडीको सकारमा जिप दुर्घटना हुँदा दुई गाउँका ५ जनाको ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ । सुर्नया गाउँपालिका वडा नं ४ का जोगेनाका २४ बर्षीय प्रेम चुनारा र उनकी श्रीमति २० बर्षीया मनिषा विकको जिप दुर्घटना परेर मृत्यु भएपछि अहिले पुरै गाउँ नै शोकमा डुबेको छ । 

यस्तै पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई, उनकी ७२ बर्षीया हजुरआमा रमा भट्टराई र सोही गाउँकी जानकी भट्टराईको पनि मृत्यु भएपछि गाउँ पुरै शोकमा डुबेको छ । 

सुर्नयाका प्रेमले १५ दिन अघि मात्रै मनिषासंग विवाह गरेका थिए । उनी दुवै जना माइती घर फर्केने बेला दुर्घटना भएको हो । दुर्घटनाले नवविवाहित छोरा बुहारी लगेपछि अहिले जोगेना गाउँ शोकमा डुबेको छ । घरको एकजना मात्रै छोरा प्रेम कहिले नभेट्ने गरेर अस्ताएपछि बुढेसकालका आमा बुवा विक्षप्त अवस्थामा रहेको स्थानीय अर्जुन चुनाराले बताए । उनले भने ‘घरको हेरचाह गर्ने, आमाबुवाको साहरा भनेको नै छोरा थियो । तर दैवले चुँडेर लग्यो । अब घरपरिवारलाई निकै समस्या भएको छ ।’

Atrya hospital

१५ दिन अघिमात्रै विवाह गरेर बुहारी भित्र्याएका चुनारा परिवारमा ठूलो ब्रजापात भएपछि गाउँमा सन्नटा छाएको स्थानीय समेत रहेका शिक्षक बीरसिंह साउँदले बताए । उनले भने ‘घरको एक्लो छोरा, साथै बुहारीको पनि दुर्घटनामा निधन भएपछि गाउँभरी शोक छ ।’

प्रेम चुनारा स्थानीय बोर्डिङ स्कुलमा अध्यापन समेत गर्दै आएका थिए । मिजासिलो र सबैसंग मिल्ने स्वभाव भएका चुनाराको निधनले गाउँ नै शोकमा डुबेको स्थानीय तेजराज भट्टले बताए । 

अहिले पनि प्रेमकी आमा होसमा छैनन् भने बुढेसकालका बुवालाई पनि सही नसक्नु भएको छ । एकजना बहिनी मात्रै घरमा हुँदा घरपरिवार सम्हाल्न निकै समस्या भएको साउँदले बताए । 

यता सकारका पनि एकै घरका हजुरआमा र नातीको निधन भएपछि गाउँ शोकमा डुबेको छ । एकैघरका दुई जना र एक अर्का गाउँले गरी तीन जनाको निधन भएपछि अहिले गाउँ नै शोकमा डुबेको स्थानीय जानुका भट्टराईले बताइन् । उनले भनिन् ‘अहिले गाउँभरी सन्नटा छाएको छ । गाउँका तीनजनाको एकै चिहान भएपछि निकै समस्या भएको छ ।’

दुर्घटनामा परेर ५ जनाको ज्यान गएपछि अहिले दुवै ठाउँका मानिसहरुमा सन्नटा छाएको सिद्धेश्वर मावि मेल्चोराका शिक्षक गोपाल भट्टराईले बताए । उनले भने ‘हामी अहिले दुवै ठाउँका मानिस पाटनमा छौं । गाउँमा रुवाबासी चलेको छ ।’

कच्ची बाटो बर्षाका कारण चिप्लो हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । उकालो जिप रोक्दा एक्कासी जिप चिप्लिएको स्थानीयहरुले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update