Sagun Khabar
विद्यार्थीमा कोरोना देखिएपछि तीनदिनका लागि विद्यालय बन्द 

बैतडी –विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बैतडीको एक विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका ४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । 

आजदेखि तीनदिनका लागि विद्यालय बन्द गरिएको र विद्यार्थीहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरिएको विद्यालयका शिक्षक सुशीला भण्डारीले जानकारी दिइन् । उनले भनिन् ‘रुघाखोकी लागेका विद्यार्थी र शिक्षक सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना जाँच गराउन पनि भनेका छौं ।’

विद्यार्थीमा कोरोना देखिएपछि शनिबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले मंसिर २१ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

केही महिना यता कोरोनाका सक्रिय संक्रमित शुन्य रहेको बैतडीमा अहिले तीनजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

कोरोनाको नयाँ भेरियन्ट ‘ओमीक्रोन’छिमेकी देश भारतमा समेत देखा परेकाले सीमा नाकामा कडाई गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । झुलाघाट नाकामा कोरोना चेकजाँच व्यवस्था गरिएको समेत उनले बताए । 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update