Sagun Khabar
विपद् व्यवस्थापन समिति बैतडीको बैठकमा बर्षाले पुर्याएको क्षतिका बिषयमा बल्ल छलफल 

बैतडी–बेमौसमी बर्षाले पुर्याएको क्षतिका बिषयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा छलफल एवं समीक्षा भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले पुर्याएको क्षतिका बिषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

पालिकाहरुमा बर्षाले पुर्याएको क्षतिको विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउन समेत आग्रह गरिएको छ । यस्तै बर्षाले क्षति पुर्याएका ठाउँमा क्षेत्रगत हिसाबले पुनर्निर्माणका काम अघि बढाउने निर्णय समेत भएको भारतीले बताए । स्थानीय तहहरुले अझै पनि क्षतिको एकीन विवरण संकलन गर्न सकेका छैनन् । 

Atrya hospital

कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले बैतडीमा ४ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । यस्तै बर्षाका कारण खसेको पहिरोले ५९ घर पूर्ण क्षति भएका र १६२ घरमा आंशिक क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक छ । यस्तै ६७ घर उच्च जोखिममा छन् भने ३६२ घर जोखिममा रहेका छन् । 

यस्तै बर्षाका कारण २ विद्यालय भवन पूर्ण रुपमा क्षति भएका छन् भने १९ विद्यालयमा आंशिक क्षति पुगेको सूचना अधिकारी भारतीले बताए । बर्षाले ६८० हेक्टर बढी जमीनमा क्षति पुर्याएको छ भने १ हजार ४१० मेट्रिक टन बालीमा क्षति पुर्याएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update