Sagun Khabar
बैतडीका बाढी, पहिरो प्रभावितले अझै राहत पाएनन् 
फाइल फोटो

बैतडी–कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाका कारण आएको बाढी, पहिरोका कारण प्रभावित भएका परिवारहरुले अझै राहत पाउन सकेका छैनन् । प्रभावित क्षेत्रमा प्रधानमन्त्री, गृहमन्त्री लगायतले स्थलगत अवलोकन गरेको भएपनि अहिले सम्म स्थानीयहरु राहत पाउन नसकेका सिगासका स्थानीय पदम साउँदले बताए । उनले भने ‘बर्षाले सबैभन्दा बढी क्षति पुर्याएको सिगासमा अहिले सम्म सरकारले राहतका केही कार्यक्रम ल्याउन सकेको छैन् ।’
सिगास गाउँपालिकाको वडा नं ५ ढुंगाडमा स्थानीयहरुका खेत बगरमा परिणत भएका छन् भने आवतजावत गर्ने झोलुंगे पुल पनि बगाउँदा समस्या भएको छ । 

सेती नदीको बाढीले झोलुंगे पुल बगाउँदा स्थानीयहरुले काठको साँघु निर्माण गर्न लागेका साउँदले बताए । पुल निर्माणका लागि अहिले सम्म पहल नहुँदा डोटी र बैतडी जोड्न सेती नदीमा साँघु हाल्ने तयारी भएको हो । उनले भने ‘सेती नदीले झोलुंगे पुल बगाएपछि अहिले आवतजावतका लागि काठको साँघु निर्माण गरिरहेका छौं ।’

Atrya hospital

बेमौसमी बर्षाका कारण बैतडीको सिगास र शिवनाथमा अन्य ठाउँको तुलनामा बढी क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ती दुवै ठाउँमा भएको क्षतिका बिषयमा विपद् व्यवस्थापन प्राधिकरणमा तथ्यांक पठाईसकिएको उनले बताए । 

सिगास र शिवनाथलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर राहत र पुननिर्माणका काम अघि बढाउने भने पनि अहिले सम्म बजेट भने आईसकेको छैन् । भारतीले भने ‘दुवैको ठाउँको क्षतिको विवरण माग भए अनुसार हामीले पठाएका छौं । अब ती दुवै ठाउँमा केही न केही काम शुरु होला ।’

बाढी पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई निर्देशिका अनुसार दिनुपर्ने नगद राहत दिईसकेको भएपनि अन्य क्षति भएकाहरुलाई राहत वितरण गरिएको छैन् ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update