Sagun Khabar
बैतडीमा कांग्रेसको नेतृत्वका लागि चन्द र भट्टबीच कडा प्रतिस्पर्धा हुने संकेत 

बैतडी–बैतडीमा शनिबार सम्पन्न भएको नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनले जिल्ला नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ । प्रदेश क्षेत्र नं (क) मा शिवराज भट्ट नेतृत्वको प्यानल विजयी भएको छ भने प्रदेश क्षेत्र नं (ख)मा चतुरबहादुर चन्द नेतृत्वको प्यानल विजयी भएको छ । 

प्रदेश क्षेत्र नं (क)मा चन्द प्यानलको तर्फबाट सभापतिका उम्मेद्वार हिमालयबहादुर बम ४ मतले मात्रै पराजित भएका छन् । अन्य पदमा पनि मतान्तर कमै रहेको देखिएको छ । यसरी हेर्दा जिल्ला नेतृत्वका लागि चन्द र भट्टबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको कांग्रेसजनहरुले बताएका छन् । 

Atrya hospital

संस्थापन पक्षको टीम दाबी गर्दै आएको शिवराज भट्ट प्यानलले प्रदेश क्षेत्रीय समितिमा सोचे अनुुसार परिणाम ल्याउन सकेको छैन् । आफ्नो पक्षमा ७० प्रतिशत मतदाता रहेको दाबी गरेको टीम प्रदेश क्षेत्र (क)मा मात्रै विजयी भएको छ । 

यता चतुरबहादुर चन्द प्यानलमा लामो समयदेखि देउवा पक्षमै रहेका नेताहरुको समेत उम्मेद्वारी परेकाले सो पक्ष बलियो बन्दै गएको बिश्लेषण गरिएको छ । ‘प्रदेश क्षेत्रीय अधिवेशनमा राम्रो नतिजा आएको छ । जिल्ला नेतृत्वमा हाम्रै टीम विजयी हुन्छ ।’चन्द प्यानलका उपसभापतिका उम्मेद्वार रमेश पाण्डेयले भने, ‘प्रदेश प्रतिनिधिहरुमा क्षेत्र (ख) मा हाम्रै प्यानल अग्रस्थानमा छ । त्यसैले जिल्ला नेतृत्व हाम्रो टीमले जित्छ ।’

यता शिवराज भट्ट प्यानलले पनि आफ्नो जीत सुनिश्चित भएको दाबी गरिरहेको छ । ‘प्रदेश क्षेत्रको अधिवेशनले हाम्रो टीम कमजोर छैन् भन्ने देखाएको छ ।’भट्ट प्यानलका सचिवका उम्मेद्वार रमेशसिंह भण्डारीले भने, ‘शिवराज भट्टको नेतृत्वमा रहेको टीमले जिल्ला नेतृत्व पाउनेमा हामी ढुक्क छौं ।जिल्ला अधिवेशनमा हाम्रो पक्षमा बढी मत आउँछ ।’

बैतडीमा कांग्रेसको नेतृत्वका लागि वर्तमान उपसभापति चतुरबहादुर चन्दको नेतृत्वमा एउटा टीम बनेको छ भने पूर्व सभापति शिवराज भट्टको नेतृत्वमा अर्को टीम बनेको छ । 

चन्द नेतृत्वको टीममा देउवा पक्ष भित्रकै नेताहरुको समेत उम्मेद्वारी रहेकाले ‘क्रसीङ भोट’को सम्भावना रहेको आँकलन गरिएको छ । सो टीममा वर्तमान कोषाध्यक्ष रमेश पाण्डेय र खगेन्द्रसिंह धामी उपसभापतिको उम्मेद्वार रहेका छन् । यस्तै वर्तमान सचिव प्रेमबहादुर चन्द र देवराज जोशी सचिव पदका लागि चुनावी मैदानमा छन् । यस्तै सहसचिवका लागि दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाडको उम्मेद्वारी रहेको छ । 

भट्ट प्यानलमा वर्तमान सचिव बीरबहादु बिष्ट र पूर्व उपसभापति हरिसिंह धामी उपसभापतिको उम्मेद्वार रहेका छन् भने सचिवमा रमेशसिंह भण्डारी र कर्णबहादुर बोहराको उम्मेद्वारी रहेको छ । यस्तै सहसचिवमा रमेश कोली र घनश्याम भट्टको उम्मेद्वारी रहेको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update